• काठमाडौँ,भदौ ८-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग प्रस्ताव अगाडि नबढाउन चेतावनी दिएका छन्। उनले आफूविरुद्ध महाभियोग लगाइए देशकै अर्थतन्त्र टाट पल्टिने भन्दै अमेरिकी नागरिक गरिब हुनुपर्ने बताएका छन्।

    अमेरिकी समाचार एजेन्सी फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले भनेका छन्, ‘मलाई थाहा छैन, तपाईँहरु त्यो व्यक्तिविरुद्ध कसरी महाभियोग ल्याउनु हुन्छ जसले यति राम्रो काम गरेको छ।’ आफूविरुद्ध महाभियोग लगाइए बजार तहसनहस हुने उनले बताए।

    उनका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पका तर्फबाट वित्तीय नियम उल्लंघन गरेको स्वीकार गरेलगत्तै महाभियोग प्रस्तावको सम्भावनाबारे चर्चा भइरहँदा पहिलोपटक ट्रम्पले धारणा सार्वजनिक गरेका हुन्।

    ट्रम्पका पूर्ववकिल माइकन कोहेनले निर्वाचन अभियानसँग जोडिएका वित्तीय नियम उल्लंघन भएको स्वीकार गरेका हुन्। यस्तो कामका लागि आफूलाई ट्रम्पले निर्देशन दिएको उनले अदालतमा बताएका छन्।