• कञ्चनपुर, ९ साउन–स्वास्थ्य उपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन्।स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन्।

    स्वास्थ्यकर्मी सहित इकाइमा प्रर्याप्त औषधिको व्यवस्था गरिनाका साथै गाउँघर क्लिनिकलाई स्तरोन्नति गरी सामुदायिक स्वास्थ्य इकाइ बनाइएको हो।

    “सामान्य ज्वरो आउँदा वा चोटपटक लाग्दा पनि टाढाको झलारीमा रहेको स्वास्थ्य चौकीमा पुग्नु पर्दथ्यो।” स्थानीय बमबहादुर डगौराले भने “गाउँमै स्वास्थ्यकर्मी सहित औषधिको व्यवस्था मिलाइएपछि निकै सहज भएको छ। औषधिका लागि शुल्क पनि लाग्दैन, लाइनमा बस्नु पर्दैन, जाँच गराएपछि औषधि पाइन्छ। जनप्रतिनिधि आएको अनुभूति भएको छ।”

    बस्तीलाई तीनैतीर नदीले घेरिएको र वर्षाका बेला गाउँमा बिरामी भए नदीमा आउने बाढीले नदी तर्न कठिन नसक्दा उपचारबाट पनि वञ्चित हुनुपर्ने अवस्था थियोे तर अहिले त्यस्तो अवस्था रहेन स्थानीय सुनिता नागरीले भने।

    इकाइमा उपचारका लागि नगरपालिकाको पिल्लरी र बेलडाँडीका बासिन्दा मात्रै नभएर छिमेकी कृष्णपुर नगरपालिकाको दोमिल्ला, पहरिया र सुन्दरी फाँटाका बासिन्दासमेत यहाँ उपचारका लागि पुग्ने गरेको इकाइमा कार्यरत अहेब डम्बरदत्त जोशीले बताए।

    उनका अनुसार दैनिक २० देखि ४५ जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन्। इकाइ स्थापनाले अशक्त, अपांगता भएका व्यक्ति, असहाय, बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी लाभान्वित भएका छन्।

    इकाइमा जनशक्तिको अभाव पूर्ति गर्नका लागि चाडै सहयोगीसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको वडाअध्यक्ष बहादुर महराले बताए। इकाइ हाल समुदायले निर्माण गरेको कच्ची घरमा सञ्चालन हुँदै आएको छ। इकाइका लागि पक्की भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ।

    गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान नदी नै बाधक थियो सुरत साउदले भने, “नदीमा पक्की पुल निर्माण हुनथालेको छ। सडकको पनि स्तरोन्नति गरिएकाले गाउँका बासिन्दाका वषौं देखिका समस्या हट्न थालेका छन्।” इकाइबाट सातसय बढी परिवार लाभान्वित भएका छन्।