• धादिङ । धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ ।

    पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा रहेको छ ।

    यस्तै हिमालको काखमा अवस्थित छ प्राकृतिक सुन्दरताले भरिएको रुवी भ्याली गाउँपालिका । अवश्य पनि रुबी भ्यालीको प्राकृतिक सुन्दरता अवर्णनीय छ । तर, हिमाली गाउँको पहिचान यसमा मात्रै सिमित छैन । अग्ला सुन्दर हिमालहरु, गड्गडाएर बग्ने नदी, शान्त ताल, हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरु, लोपोन्मुख जनावरहरु, हजारौं वर्ष पुराना गुम्बाहरु र यिनै परिवेशमा छुट्टै पहिचान बनाएर बसेका रुबी भ्यालीका बासीन्दाहरु यहाँका पहिचान हुन् । ल्होसार, ख्रिष्टमस, बुद्धजयन्ति, वडादशैं, भाइटिका, तिज, होली जस्ता चाडहरुले यस भेगलाई थप मौलिकता प्रदान गरेको छ । तामाङ, घले, गुरुङ, ब्राहाण, क्षेत्री, नेवार, दमाई, कामी आदि जातजातिहरु यस पालिकामा बसोबास गर्छन ।

    पाविल हिमाल र गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्यहरु हेर्दा जो कोही पनि मन्त्रमुग्द हुने गर्दछन् । हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भागबाट आंखु नदी आफ्नो सौन्दर्यता झल्काउँदै अविरल बग्ने गर्दछ ।

    प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा पनि परिचित छ । यि ठाउँहरुले जो कोही लाई आफ्नो सुन्दरतामा भुलाउनेमा कुनै शंका छैन् ।

    साविकको तिप्लिङ गा.वि.स, सेर्तुङ गा.वि.स, र लापा गा.वि.स, को नामलाई कायम गरी यो गाउँपालिकाको नामाकरण रुवी भ्याली गाउँपालिका गरिएको छ । विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्दछ । त्यसैले पनि यस पालिकाको नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो।

    भू–आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला,पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ ।

    धादिङको उत्तरी भेगमा अवस्थित रुबी भ्याली गाउँपालिका बहुमूल्य रुवि ढुङ्गा पाइने स्थानको रूपमा समेत परिचत छ । प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको यस गाउँपालिकामा स्थानीय रूपमा उत्पादित खाद्यान्नको स्वाद लिन सकिन्छ ।