• काठमाडौँ– समयमा महाधिवेशन हुन नसकेपछि नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा तदर्थ समिति बनाउनुपर्ने माग चर्को ढङ्गले उठेको छ ।

    १२औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११ निर्वाचित कार्यसमितिलाई राजीनामा गराउन लगाइए पनि ६ महिना बित्दासमेत नेविसङ्घले नेतृत्व पाउन सकेको छैन ।

    गत फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गर्दै नेविसङ्घमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर देउवाले तत्कालीन अध्यक्ष महरले नेविसङ्घबाट बिदा लिएको ६ महिनासम्म पनि नेविसङ्घलाई नयाँ नेतृत्व दिन नसकेका हुन् ।

    यद्यपि यतिबेला काँग्रेसभित्र भदौ २४ पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत भइरहेको नेताहरुले बताएका छन् ।

    तर कतिपय काँग्रेसकै नेताहरुले सभापति देउवाले नेविसङ्घको नेतृत्व चयनका लागि गरेको आलटालले भदौ २४ भित्रै तदर्थ समित गठन भइहाल्छ भन्ने अवस्था नरहेको आशङ्का गरेका छन् ।

    पूर्वपार्टी सभापति सुशील कोइरालाको पालामा नेविसङ्घले भोगेको नियति देउवा पनि दोहोर्याउने पक्षमा रहेको उनीहरुको बुझाइ छ ।

    के भएको थियो सुशीलका पालामा ?

    पार्टीको १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित सुशील कोइरालाले प्रदीप पौडल नेतृत्वको कार्यसमिति विघटन गरेर लामो समयपछि २०६८ सालमा रञ्जित कर्णलाई अध्यक्षको जिम्मेवारी दिएका थिए ।

    देउवाले पनि महर नेतृत्वको कार्यसमिति विघटन गराएर ६ महिना बित्दा पनि नेविसङ्घको नेतृत्व चयनमा बेवास्ता गरेर कोइरालाकै बाटो त रोजेका होइन भन्ने शंसय पैदा भएको छ ।

    तर देउवा निकट केन्द्रीय सदस्य एनपी साउद भने देउवा जतिसक्दो चाँडो नेविसङ्घमा नेतृत्व ल्याउन लागिपरेको बताउँछन् । उनका अनुसार अबको केही दिनमै नेविसङ्घले नयाँ नेतृत्व पाउने छ ।

    विकल्पमा देउवाको अलमल

    उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा नेताहरुबीच विवाद छ । यही विवादका कारण सभापति देउवा अलमलमा परेका हुन् ।

    सभापति देउवा निकट मानिएका नेताहरु विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञनेन्द्रबहादुर कार्की र एनपी साउदबीच आफूनिकट विद्यार्थी नेतालाई नेतृत्वमा ल्याउने चाहाना र जोडबल चलेको छ ।

    यस्तै पार्टीभित्र पूर्ण समिति (९५ सदस्यीय) तदर्थ समिति वा सानो आकारमा निर्वाचन समिति चयन गर्ने भन्नेमा पनि नेताहरुबीच सहमति हुन सकेको छैन ।

    बैठकमा बहस

    बैठकमा भ्रातृ संस्थाबारे प्राविधिक कुरामा बहस भएको भन्दै केन्द्रीय सदस्य गगन थापाले सङ्गठन कब्जा गर्ने सोचबाट बाहिर निस्किनुपर्ने बताए । ‘भ्रातृ तथा शुभेच्छुकहरु संस्थाहरुबारे प्राविधिक रूपमा छलफल गरिरहेका छौँ ।  विधानलागायतका कुरामा बहस भइरहेको छ । तर यहाँ कुरा राजनीतिक छ । निर्वाचित भएर आएको नेविसङ्घ होस् वा भागबण्डाबाट ल्याइएको तरुण दलको कुरा गरौँ ? निर्वाचन वा भागबण्डा जेबाट आए पनि ती सङ्गठनले काम गर्न सकेनन् । किन भने माउ पार्टी काँग्रेसभित्र भ्रातृ संस्था बनाउनुभन्दा पनि कब्जा गर्नुछ । जसकारण सबै कुरा हामीले अस्तव्यस्त बनायौँ । अब पार्टी सभापति शेरबहादुर देउवादेखि म समेत भ्रातृ संस्था कब्जा गर्ने कुराबाट बाहिर निस्किन तयार हो होइन ?,’ थापाले आफैलाई समेत प्रश्न गरेँ ।

    पार्टीका नेताहरुले नेविसङ्घमाथि कब्जा जमाउन खोज्दा अहिलेसम्म नेतृत्वविहीनको अवस्था आएको थापाको भनाइ छ ।

    ‘पार्टी सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेविसङ्घमा कब्जा जमाउन लागिपरेका छौँ । जसकारण लामो समयसम्म पनि नेविसङ्घले नयाँ नेतृत्व पाउन सकेको छैन । पार्टी सभापतिलाई केही साथीहरुले दबाब र प्रभावमा पारेर नेविसङ्घ कब्जाको रणनीति बनाउँदा नेतृत्वविहीनको अवस्था आएको प्रष्ट छ,’ नेता थापाले भने, ‘निर्वाचित समिति विघटन नगरौँ भन्दा हाम्रो कुरा सुन्न आवश्यक ठान्नुभएन । कुरा सुन्न आवश्यक नठान्ने मान्छेलाई नेतृत्व चयनमा कसले रोक्यो ?’

    ६ महिनामा महाधिवेशन गराउने समयसीमाका साथ सीमित सङ्ख्यामा नयाँ समिति बनाउनु पर्नेमा थापाको जोड छ ।

    ‘६ महिनाको समयसीमा तोकेर महाधिवशनका लागि मात्र नेविसङ्घमा नयाँ समिति ल्याउनुपर्छ । त्यसमा पार्टीका केही नेतालाई सहजकर्ताको जिम्मेवारी दिनु उपयुक्त हुन्छ । पार्टीको निर्वाचन समितिले नेविसङ्घको महाधिवेशन गराउने कुरा सहज हुँदैन,’ थापाले भने ।

    यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेविसङ्घको विधानअनुसार नेतृत्व आउनुपर्ने बताए । उनले भने, ‘समयअवधि सकिएका सबै भ्रातृ सङ्गठनहरुको विधान अनुसार अधिवेशन गरिनुपर्छ । बीपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री बन्नुभयो, सभापति देउवाजी ४९ र ५० वर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेविसङ्घमा विधानले तोकेअनुसार ३२ वर्षभन्दा तलकालाई ल्याउन हामीलाई कसले रोक्यो ?,’ उनको प्रश्न थियो । नेविसङ्घमा ५१ वर्ष उमेरका राजीव ढुङ्गानालाई ल्याउन खोजिएको पनि चर्चा भइरहेको छ । संस्थापन पक्ष अब बन्ने नेविसङ्घको केन्द्रीय कार्यसमिति ३२ वर्षभन्दा माथिका विद्यार्थीहरुबाट गठनको तयारीमा लागेको बुझिएको छ । यसमा वरिष्ठ नेता पौडेल पनि सहमत भएका छन् ।

    विधानमा ३२ वर्षीय उमेरको हद १२औँ महाधिवेशनबाट लागू हुने भएकाले पनि तदर्थ समितिमा उमेर हदबन्दी लागू नहुने संस्थापन पक्षको तर्क छ । यद्यपि गत मङ्सिरमा पार्टी केन्द्रीय समितिबाट बहुमतले पारित नेविसङ्घको विधानमा ३२ वर्षे उमेर हदबन्दी तोकिएको छ । समयमा महाधिवेशन हुन नसक्दा काँग्रेसका अन्य १० भ्रातृ संस्थाको अवस्था अस्तव्यस्त छन् । विधानअनुसार नेपाली काँग्रेसका हरेक भ्रातृ संस्थाको महाधिवेशन दुईदेखि तीन वर्षमा हुनुपर्ने व्यवस्था छ ।