• गोरखा,साउन८- जिर्णोद्वारको काम चलिरहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दुई किलो सुन अपुग भएको छ।

    मन्दिरको छाना, गजुरलगायतका भागमा लगाउन १६ किलो सुन प्रयोग भइसकेको छ,भनेअझै विभिन्न भागमा लगाउन दुई किलो सुन अपुग भएको मनकामना मन्दिर जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।

    ‘पुरातत्व विभागले गरेको स्टिमेटअनुसारको काम त गरिरहेकै हो’ संयोजक श्रेष्ठले भने, ‘तर पनि दुई किलो सुन अपुग हुने देखियो।’ श्रेष्ठका अनुसार गजुर मर्मतका लागि पुरातत्व विभागले पाँच हजार रुपैयाँ विनियोजन गरेको थियो। गजुर झिकेर हेर्दा पुरानो भएर पुरै प्वाँल नै प्वाँल परेकाले खर्च बढेको उनको भनाइ छ।

    समितिका अनुसार स्टिमेटमा तोरणमा जलप लाउने उल्लेख थिएन। गजुरबाट ढोकासम्म झुण्डिने उक्त तोरन मन्दिर स्थापनाकालदेखि नै रहेको जानकारहरु बताउँछन्। तोरण पुरानो भएर रंगहरु खुइलिएकाले जलप लगाउन पर्ने भएकाले लागत बढेको छ।

    यस्तै, स्टिमेटभन्दा बाहिरको गजुरबाट झर्ने पतका, ढोका, नागकन्या लहरीमा लगाइने छ। मन्दिरको दुवै छानामा सुनको जलप लगाइसकिएको छ। तर, आँगनमा ढुंगाा छाप्ने लगायतका काम भइरहेकाले भक्तजनका लागि तत्कालै मन्दिर खुला गर्न नसकिएको समिमिले बताएको छ। ‘दशैँबाट भक्तजनले मन्दिरमै पूजाआजा गर्न पाउने गरी निर्माणमा हामी जुटिरहेका छौं,’ संयोजक श्रेष्ठले भने, ‘बाँकी रहेका क्षेत्रमा सुन लगाउने, बनाउन बाँकी भएको ठाउँ बनाउने काम छिट्टै सक्ने तयारीमा छौँ।’

    मनकामना मन्दिर जिर्णोद्वार गर्न अहिलेसम्म नौ करोड रुपैयाँ खर्च भइसकेको र अझै डेढ करोड खर्च हुने समितिको अनुमान छ। यसअघि गत बैशाखमा चण्डी पूर्णिमाको अवसरमा साइत हेरेर मन्दिरको गजुर राखिएको थियो।

    पुरातत्व विभागबाट आएको चार करोड रुपैयाँले यसअघि नै सात किलो सुन उपलब्ध गराएको थियो। ‘पहिलेको मन्दिरमा पनि नौ किलो सुनको जलप लगाइएको थियो,’ संयोजक श्रेष्ठले भने, ‘अब हामीले कसरी हुन्छ दीर्घकालीन बनाउनु छ।

    त्यसैले ढिलै होस् बरु बाक्लो र राम्रै होस भनेर पहिलेको भन्दा धेरै खर्च गरेर राम्रो बनाउन लागेका छौँ।’ २०७२ असारदेखि मन्दिर भत्काएर जिर्णोद्वारको काम सुरु भएको हो। मनकामना मन्दिर भूकम्पका कारणले जीर्ण भएकाले पुरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो।

45