• काठमाडौँ, १० भदौ–दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन्।इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

    नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन्। महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन्।

    यसअघि एशियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो।

    दुबैले एक–एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ। एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताए। यस अघि शनिबार सोम बहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए।