• नुवाकोट, ७ भदौ–विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ।जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो।श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास निर्माणमा संलग्न सरकारी निकायसँगको परामर्श, नेपाल राष्ट्र बैंकले जारी गरेको ज्यालादर सूचकाङ्क, हालको बजारमूल्य र श्रमिकको उपलब्धतालाई आधार मानेर ज्यालादर वृद्धि गरिएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए।

    समितिले मजदूरको ज्याला वृद्धिको साथै ढुवानी दररेट र वस्तुको मूल्यमा समेत वृद्धि गरेको छ। दक्ष कामदारको  एक हजार १३० तथा विस्फोटक पदार्थ ढुवानी गर्ने, ज्यामी, डकर्मी, सिकर्मी र कम्प्युटर अपरेटरको  ८९० कायम गरेको छ। अर्धदक्ष कामदारको  ६९० र अदक्ष कामदारको दैनिक ज्याला  ५२० देखि कामको प्रकृति हेरि ६३० सम्म कायम गरेको छ। समितिले गत आवको तुलनामा चारदेखि पाँच प्रतिशतसम्म ज्यादादर वृद्धि गरेको हो।

    समितिले इँटाको मूल्य र सामग्री ढुवानीको दरसमेत वृद्धि गरेको छ। मेशिनबाट उत्पादित प्रतिहजारको इँँटा  २१ हजार ८०३ र स्थानीय चिम्नी भट्टाको १ नम्बर इँटा प्रतिहजारको १३ हजार २०० कायम गरेको छ। गत आवमा मेशिनबाट उत्पादित इँटाको मूल्य एक हजारको  २० हजार ७६५ र स्थानीय चिम्नी भट्टाको  १२ हजार २०० रहेको थियो । माटो, गिट्टी, सिमेन्ट र बालुवाजस्ता सजिलो सामान ढुवानीका लागि प्रतिकिलोमिटर प्रतिक्विन्टल  ७८ तथा जस्ता, छड, जिआइ पाइप, ट्रस, ऐनाजस्ता टुटफुट हुने सामग्रीको  ९३ दररेट निर्धारण गरिएको छ।