• काठमाडौं,६ भदौ –नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ। गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद देखिएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय तोकिएको छ।

    बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जनाएको छ। नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेको बताइएको छ।
    गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ।
    नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ। प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

    प्रदेश १ः प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, स’नसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ। माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन।

    प्रदेश २ः प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ।

    प्रदेश ३ः प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ।

    माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ।

    प्रदेश ५ः प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची,गुल्मी,पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ। माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

    कर्णाली प्रदेशः कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन्। कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ। एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ। त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ।

    माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रदेश ७ः प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम,बाजुरा र डोटीको नेतृत्व पाइसकेको छ। माओवादीले कञ्चनपुर,दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ।