• काठमाडौं,६ भदौ-कालिमाटी फलफूल तथा तरकारी बजार आज (बुधबार)देखि खुलेको छ गत सोमबार सरकारी अनुगमन टोलीले अनुगमन गर्दा अनुगमन टोली र व्यपारी बीच भएको अवरोधका कारण कालिमाटी बजार बन्द भएको थियो।

    कालीमाटी बजार बन्दले तरकारी तथा फलफूलको आपूर्तिमा नियमितभन्दा केही कमी देखिएको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताएका छन् ।

    सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार बेलुका मात्र आन्दोलन फिर्ता लिएपछि तरकारी आपूर्तिमा कमी आएको उनको दाबी छ। भिण्डीको खुद्रा मुल्य मंगलबारभन्दा आज ६ रुपैयाँ घटेको छ ।

    बुधबार भिण्डी प्रति केजी ५८ रुपैयाँ रहेकोमा बुधबार ५२ रुपैयाँमा झरेको छ । त्यस्तै च्याउको मूल्य १० रुपैयाँ घटेर १२५ रुपैयाँ प्रति केजी कायम भएको छ। कागतीको मूल्य १६५ बाट १५५, अनार १३५ बाट १२५ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ।

    यस्तै ठूलो गोलभेडा, बन्दा, स्कस लगायतका केही तरकारीको मूल्य भने बढेको छ। ठूलो गोलभेडा बुधबार ५२ रुपैयाँ रहेकोमा आज ६ रुपैयाँ बढेर ५८ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ।

    त्यस्तै बन्दा ५२ बाट ६८, स्कुस ३८ बाट ४८, हरियो खुर्सानी ५८ बाट ७२, भेडे खुर्सानी १०५ रुपैयाँ प्रति केजीमा किनबेच भइरहेको समितिले जनाएको छ ।

    धनियाँको भाउ भने प्रति केजी १ सय रुपैयाँभन्दा बढी वृद्धि भएको छ। मंगलबार धनियाँ प्रति केजी ४४५ रुपैयाँ रहेकोमा आज बढेर ५९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।