-
काठमाडौं ५ भदौ-हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।
यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ। यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्। खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न।
सौखोलाकी ६८ वर्षीया गौमती बोहरा १३ वर्षको उमेरदेखि पत्थर संकलनको काम गरिरहेको अनुभव सुनाउँछिन्। अहिले शारीरिक कमजोरीका कारण पहिरो छेउछाउ सासू गौतमी जान नसके पनि बुहारी रतना परिवारका सदस्यको हुल लिएर पत्थर संकलनमा जाने गरेकी छन्। ‘कलिलै उमेरमा बिहे गरी सौखोला आएँ,’ गौमतीले भनिन्, ‘पहिरो आएको दिन परिवारका सबै सदस्य पत्थर संकलन गर्छन्।’
गिरीचौकाको यो पत्थर डोटी, बझाङ र बैतडीका विभिन्न क्षेत्रमा निर्यात हुने गरेको छ। तर, पत्थर बटुल्ने होडमा खतरा नभएको पनि होइन। पत्थर संकलन गर्ने क्रममा विगतमा ३ जना गाउँलेको मृत्यु भइसकेको छ।
सिल्लभीर नजिक गाउँ छैनन्। यहाँ बर्सेनि सुक्खा पहिरो जाने गर्छ। यो अग्लो भीर भएकाले सामान्य घाम लाग्दा अथवा पानी पर्दा पनि पहिरो जाने गर्छ। पत्थर संकलनबाटै जीविकोपार्जन गर्ने परिवार पनि गिरीचौकामा छन्। छानो छाउनुपर्दा एउटा घरका लागि बढीमा १ लाख रुपैयाँसम्मको पत्थर आवश्यक पर्ने स्थानीय नरबहादुर ढाँटले बताए। साविकको गाविसमा सचिवको काम गरेका भरतबहादुर नेपालीले पत्थर संकलनबाट एउटा परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गरेको बताए। तर, अब भने आदर्श गाउँपालिकाले पत्थर संकलन र बिक्रीमा पनि कर लगाउने सोचाइ बनाइरहेको वडाध्यक्ष लालबहादुर कठायतले बताए। उनले खेर गइरहेको प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न आफूहरू स्थानीयसँग छलफल गरिरहेको बताए।
‘म सानो छँदादेखि नै पहिरो खस्दा पत्थर संलकन गरेर खरिदबिक्री हुन थालेको हो,’ स्थानीय बयोवृद्ध शंकर विकले भने, ‘अहिलेसम्म यहाँबाट करोड रुपैयाँभन्दा माथिको पत्थर बिक्री भइसकेको होला।’ वर्षायाममा बाढी आउँदा नदी किनारमा काठदाउरा संकलन गर्न गाउँले जम्मा भएसरह गिरीचौकामा पत्थर संकलन हुने गरेको विक बताउँछन्।
सिल्लभीरको सिंगो डाँडामा पत्थर खानी छ। अन्य ठाउँका तुलनामा यहाँबाट राम्रो र दिगो पत्थर निस्कने स्थानीय बताउँछन्। ठाडै भिरालो भएकाले पत्थर काटेर/फोरेर निकाल्न मुस्किल छ। पत्थर निकाल्न पहिरो नै पर्खनुपर्ने स्थानीय लोकराज पाठकले बताए।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
