•  काठमाडौं,भदौ १-नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

    आजदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले पहिलो पटक म्याच फिक्सिङ सम्बन्धि कानुनको व्यवस्था गरेको हो।म्याच फिक्सिङ सम्बन्धि व्यवस्था ऐनको भाग दुईको फौजदारी कसुरको परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको कसुरमा राखिएको छ।

    राष्ट्रहित प्रतिकुल काम गर्न नहुने शीर्षकमा गरिएको व्यवस्थामा भनिएको छ, ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।’

    यस्तो कसूर गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने ऐनमा उल्लेख छ। नेपालमा यसअघि म्याच फिक्सिङ सम्बन्धि कानुन नहुँदा राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइदैँ आएको थियो।