• काठमाडौं,२१ साउन-अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हाँसिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल फर्किएको छ। नेपाली टिम सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो ।

    साढे ४ महिनाअघि एक दिवसीयको मान्यता पाएको नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्ड्ससंग ५५ रनको हार बेहोरे पनि दोस्रो खेलमा भने फर्ममा फर्किएको हो।

    विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै कप्तान पारस खड्काले राम्रो उपलब्धि हासिल गरेको प्रतिक्रिया दिएका छन्। उनले जतिसक्यो खेलहरु खेल्ने र त्यसले उत्साह बढाउने बताए। उनले आसन्न एसिया कप नेपालका लागि ठुलो अवसर हुने बताएका छन्।

    नेदरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर काठमाडौं ओर्लिएका कप्तान खड्काले एसिया कपको छनोटमा उत्कृष्ट प्रर्दशन गरेर त्यो अवसरलाई प्राप्त गर्न कोशिश गर्ने बताए।

    एसिया कपको छनोटमा हङकङ, ओमान र युएई जस्ता राम्रा टोली सहभागि हुने उल्लेख गर्दै उनले सबै टोलीले एक अर्कालाई चुनौती दिन सक्षम रहेको धारणा राखे।‘एसिया कपको छनोटमा सबैले एक अर्कालाई चुनौती दिन सक्छन् ।’ उनले भने ‘एउटा ठुलो अवसर हाम्रो अगाडी छ। ’

    अगष्ट अन्तिम साता हुने एसिया कप छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्दै छन्।