-
बनियानी (झापा), ४ भदौः यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उहाँले कृषिलाई अगाल्नुभएको हो ।
विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताउनुभयो । उहाँले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गर्नुभएको छ ।
News Desk 0 response बुधबार, भदौ ४, २०८२
दुई वर्षको अवधिमा उहाँले ड्रागन फ्रुटखेतीबाट वार्षिक रु दुई लाख आम्दानी गर्न थालेका बताउँदै भन्नुभयो, “कुरिलोखेतीले तीन वर्षमा रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी दिएको छ ।”
कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताउनुभयो । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उहाँको भनाइ छ । “अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्”, उहाँले भन्नुभयो, “तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।”
बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताउनुभयो । “स्थानीय बजारको अभाव छ”, उहाँले भन्नुभयो, “उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ ।” उहाँले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पु¥याउनुपर्ने बाध्य रहेको उल्लेख गर्नुभयो ।
गौतमले ५० वटा आभोकाडोका बिरुवा परीक्षणका रूपमा रोप्नुभएको छ । यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उहाँको बुझाइ छ । कृषिलाई थप व्यावसायिक बनाउन उहाँले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताउनुभयो ।
कुरिलो फागुनदेखि सुरु भई करिब छ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ । माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उहाँले बताउनुभयो । कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताउनुभएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहनुभएको छ ।(रासस)
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
