• काठमाडौं,२० साउन –अत्यधिक सवारी चाप हुने कलंकीमा अन्डरपास निर्माण कार्य सकिनै लाग्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको छ।

    कलंकी जस्तै सवारी साधनको चाप बढी रहने नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा बनाउने तयारी भइरहेको अन्डरपास नेपालीले नै डिजाइन र विस्तृत प्रतिवेदन तयार पार्ने काम गरिहेकोे छ।

    कलंकी चोकमा बनेको नेपालकै पहिलो सडक अन्डरपासपछि सोही मोडल र डिजाइनलाई आधार बनाएर सडक विभागले बानेश्वर र कोटेश्वर चोकमा पनि अन्डरपास बनाउने भएको हो।

    करिब एक हजार मिटर लामो दुरीमा रहने दुवै स्थानमा अन्डरपास बनाउन पाँच वटा नेपाली कम्पनी सक्रिय छन्। सडक विभागले अन्डरपासको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन मागेको प्रस्तावमा ६ वटा कम्पनीको आवेदन दिएको जनाइएको छ। यसमा ५ वटा नेपाली र एक चाइनिज कम्पनी रहेका छन्।

    नेपाली कम्पनीसँग जेभी भएर आएका विदेशी कम्पनी भएपनि नेपाली कम्पनीकै दक्षता र योग्यतामा आधुनिक प्रविधिको प्रयोगले भौतिक पूर्वाधारमा हुनुलाई सकारात्मक लिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जनाएको छ।

    डिजाइन बनिरहेको दुवै अन्डरपासलाई चालू आवको दोस्रो त्रैमासपछि सार्वजनिक प्रस्तावमा माग गरेर निर्माणको जिम्मा नै दिने तयारी भइरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंघ थापा बताए।

    डिजाइनसहितको विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयारी हुने अन्ति चरणमा पुगेको छ। अबको ६ महिनाभित्र यसलाई विभागले ठेक्काकै रूपमा सार्वजनिक गरिसक्ने पनि उनको भनाइ छ।

    कलंकीमा चिनियाँ कम्पनीले बनाएको अण्डरपास सडक विस्तारका क्रममा महाराजगन्जमा पनि चीनले नै बनाइदिने भएको हो। सडक विभागले महाराजगन्जको लागि तयारी गरेको भएपनि अब यो योजनालाई कोटेश्वरतर्फ लगेको जनाइएको छ।

    सवारी आवागमनको लागि सहज हुने गरी कलंकीमा निर्माण अन्तिम चरणमा पुगे जस्तै अन्डरपास बानेश्वर, कोटेश्वर र महाराजगन्जमा पनि बनाइने विषयमा नेपाली कम्पनी क्रियाशील रहेका छन्।

    सडक विभाग अन्तर्गतको पुल विभागले बानेश्वर र कोटेश्वरमा दुईवटा अन्डरपास बनाउने कामको आवश्यक डिजाइन नेपाली कम्पनीले अन्तिम चरणसम्म नै पुराइसकेका छन्। अण्डरपासका लागि आईटीईसीओ नेपाल जेभी कार्ड कन्सल्ट होमल्याण्ड प्रालि,सीईआसी जेभी जीईओसीएएम इन्टरनेशनल प्रालि,जीईओसीई कन्सल्यान्ट जेभी बीम कल्सल्यान्ट,बीडीए नेपाल प्रालि जेभी बेइजिङ चाइना हाइवे ई।एन्ड कन्सल्यान्ट,जीओइसी नेपाल प्रालि जेभी कस्मोपोलिटेन कन्सल्यान्ट एण्ड टेक्निकल इजुकेशन प्रालि र सीआईएएस प्रालि रहेका छन्।

    सडक विस्तारका क्रममा कोेटेश्वर सातदोबाटो कलंकी सडकलाई चीन सरकारले नै अनुदान सहयोगमा सीतापाईला हुँदै महाराजगन्जसम्म पुराउने छ। यो सडक विस्तार गर्दा स्वयम्भू क्षेत्रमा पनि २ सय मिटरको अर्को अण्डरपास हुने देखिएको छ।

    विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भुनाथ मन्दिर रहेकोले सडक विस्तार गर्दा यसलाई जोगाउन पनि अन्डरपास निर्माण गर्नुपर्ने सर्त अगाडि सारिएको सडक विभाग बताउँछ। विश्वसम्पदा जोगाउने विषयमा सडक विस्तार गरिदिने चिनियाँ कम्पनीपनि यो स्थानमा छोटो अन्डरपास बनाउन तयार रहेको जानकारी विभागले दिएको छ।

    चीन सरकारले सडकसहितको काठमाडौं रिङरोडमा २ वटा र सडक विभागले पनि २ वटा अन्डरपास बनाउने भएको छ। रिङरोडमा ४ वटा अन्डरपास भएपनि सवारी जाम कम हुने दाबी गरिएको छ।

    हाल कलंकीमा निर्माण भएको करिब एक किमिको अन्डरपास बनाउन एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ। अब बन्ने बानेश्वरको डेढ किमि र कोटेश्वरको पनि सोही दूरीको हाराहारीमा हुने अन्डरपासको लागि एक एक अर्ब रुपैयाँ अनुमानित खर्च हुने सडक विभागले जनाएको छ।

    अन्डरपास निर्माण भएपछि के फाइदा?
    यो अन्डरपासको निर्माण पछि त्यस क्षेत्रको ट्राफिक जाम पूर्णरुपमा कम हुने छ। अन्डरपास ४ ठाउँमा निर्माण भएपछि  ट्राफिक प्रहरीको समेत आवश्यकता पर्नेछैन। अन्डरपासको पूर्णउपयोग भने चक्रपथ विस्तार पूर्णभएसँगै हुनेछ।