• एजेन्सी – चेन्नई सुपर किंग्स फेरि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

    चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको एक ७६ रनको लक्ष्य चेन्नईले १९.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ खेले । वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरेका थिए । सुरेश रैनाले ३८ र अम्बाती रायडुले २१ रन बनाए । केदार जाधव ११ रनमा अविजित रहे । बलिङमा हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले एक एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धाीरत २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । हैदरावादका मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ खेले । पाण्डेले अविजित ८३ रन बनाए । वार्नर ५७ र विजय शंकरले २६ रन बनाए । बलिङमा चेन्नईका हर्बजन सिंहले दुई तथा दिपक चाहरले एक विकेट लिए ।

    जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक बनाएको छ । चेन्नई प्ले अफको नजिक पनि पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको १४ अंक छ । चौथो स्थानमा रहेको हैदरावादको १० अंक छ ।