• बारा, चैत्र १८ – आइतबार साँझ एक्कासी आएको हावाहुरीको कारण तराईका बारा र पर्सा जिल्लामा गरी अहिले सम्म ३० जनाको ज्यान गईसकेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति भएको हो।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको बताएका छन् ।

    ‘एकातिर भू-मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइहरेको थियो अर्कोतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको थियो, यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चल्यो – अर्यालले भने ।

    पश्चिमी वायुको प्रणाली जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहने र यो प्रणाली निकै चिसो हुन्छ । बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जाने हुँदा पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुने गर्दछ ।

    हिजो साँझ माथिबाट बेगमा गइरहेको चिसो हावा तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झरेको बताईएको छ । चिसो हावा तल झरेपछि खाली भएको माथिल्लो भागमा तातो हावा गयो, त्यही भूमरी बन्यो,’ अर्यालले भने, ‘प्रि-मनसुनमा यस्तो अन्त पनि हुन्छ। तर त्यहाँ दुइटा बलिया प्रणाली मिलेकाले हावाको गति निकै तीव्र भयो।’उनका अनुसार हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ। हिजो राति बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको देखिन्छ ।

    उक्त घटना पछी ज्यान गुमाउनेहरुको संख्या ३० पुगिसकेको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको बिरगंजका बिभिन्न अस्पातलमा उपचार भईरहेको छ । घाइते मध्य केहीलाई भने थप उपचारको लागि काठमाडौं लगिएको छ ।