• दुई पटक पेनाल्टी पाए पछी स्पेनिस ला लिगामा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा रियलले लेभान्टेलाई २-१ ले पाखा लगाएको हो । खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएको थियो ।

    लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र ग्यारेथ बेलले गोल गरे । घरेलु टोलीका लागि रोजेर मार्टीले गोल गरे । रियलले दुबै गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मद्घतमा प्राप्त गरेको पेनाल्टी मार्फत गरेको थियो ।

    रियलले खेलको ४३ औं मिनेटमा पहिलो पेनाल्टी पाएको थियो । लुका मोड्रीचको क्रसलाई बचाउन खोज्दा बल लेभान्टेका एनिस बार्धीको हातमा लागे पछी रेफ्रीले भिएआरको सहरा लिदै रियललाई पेनाल्टी दिएका थिए । उक्त अवसरलाई करिम बेन्जेमाले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

    खेलको ६० औं मिनेटमा लेभान्टेले बराबरी गर्‍यो । उसका लागि रोजेर मार्टीले गोल गरे । तर ७८ औं मिनेटमा रियल फेरी अर्को पेनाल्टी पायो । रियलका कासेमिरोलाई लेभान्टेका चेक डुकुरेले डि बक्स भित्र लडाए पछी रेफ्रीले फेरी भिएआरको सहयोगमा रियललाई पेनाल्टी दिए । उक्त अवसरलाई ग्यारेथ बेलले गोलमा परिणत गर्दै रियललाई २-१ को अग्रता दिलाए । बाँकी समयमा गोल हुन सकेन र रियल २-१ ले बिजयी भयो ।

    खेलको अन्तिम समयमा दुबै टोली १० खेलाडीमा सिमित भयो । ८६ औं मिनेटमा रियलका नाचोले रातो कार्ड पाए । लगत्तै २ मिनेट पछी लेभान्टेका रुबेन रोचिनाले पनि रातो कार्ड पाए ।

    जित पछी रियलको २५ खेलबाट ४८ अंक भएको छ । रियल तालिकाको तेस्रो स्थानमा रहेको छ । रियल शिर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा २ अंकले पछी रहेको छ । रियल सँग पराजित भएको लेभान्टे भने २५ खेलबाट ३० अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ ।

    यस्तै गए राती नै सम्पन्न अर्को खेलमा रियल बेटिसले भल्लाडोलिडलाई २-० ले पाखा लगाएको छ । भल्लाडोलिडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि एइसा माण्डी र जोएक्विनले गोल गरे । जित पछी बेटिस तालिकाको सातौ स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ३६ अंक भएको छ । उता भल्लाडोलिड भने समान खेलबाट २६ अंक सहित तालिकाको १६ औं स्थानमा रहेको छ ।