• काठमाडौं । मुलुकबाट लोडसेडिङ घटाएर सबैको हृदयमा बस्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि अर्काे उदाहरणीय काम गरेका छन् । उनको नेतृत्वमा चालु आर्थिक वर्ष २०७५÷७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाउन सकिएको छ । प्राधिकरणकाअनुसार २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको छ ।कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियान नै चालेका छन् ।

    २०७३ भदौमा उनले प्राधिकरणको जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो । करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

    चालु आर्थिक वर्षमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।