• काठमाडौँ, २७ पुस-मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।

    पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद् विभूती पोखरेलले जानकारी दिए।

    त्यस्तै भोलि पनि मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    पुस २९ गते पनि मुलुकभर मौसममा आंशिकदेखि सामान्य बदली यथावत रहने पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।