• कञ्चनपुर, २३ मङ्सिर-पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ।

    माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ। संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको बताए।

    उनका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको हो।

    विभिन्न बहानामा दलालले बेच्नका लागि उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताए। माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला र बालबालिकाको उक्त नाकाबाट रोकथाम गरिएको छ।

    उद्धार गरिएका जम्मा २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन्। सबैभन्दा बढी कञ्चनपुर र कैलाली तथा सबैभन्दा कम डोटीका छन्। कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६-६, डोटी एक, बझाङ दुई, डडेल्धुरा चार र दार्चुलाका पाँच जनालाई उद्धार गरिएको छ।

    एक वर्षको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्ट्रेलिया चार, पोल्याण्ड, दुबई र कुबेत एक-एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन्।

    माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा रहेका १० जनाको समेत उद्धार गरी घरपरिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली र मद्रासबाट दुई–दुई तथा हैदरवाद, खटिमा, बैङलोर र पुनाबाट एक–एक जनाको उद्धार गरिएको थियो।

    सो अवधिमा माइती नेपाल कञ्चनपुरमा १५८ हराएकामध्ये २९ जना फेला परेका थिए । यसैगरी २३ घरेलु हिंसाका उजुरीमध्ये १७ मिलापत्र, तीन जबर्जस्तीकरणी र दुई मानव बेचबिखनविरुद्ध माइती नेपालमार्फत मुद्दा दायर गरिएका छन्। उक्त अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श सेवासमेत दिएको छ।