• काठमाडौं,३० कार्तिक –नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।

    आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन् ।

    दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो । उनलाई दिल्लीले सुरक्षित गरेको मूल्य भने खुलाएको छैन । ‘दिल्लीले सन्दीपलाई सुरक्षित गरेको जानकारी गराएको हो’, सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले भने । उनलाई गत सिजन दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो । आईपीएल खेलेयता सन्दीप विदेशी लिग खेल्न व्यस्त छन् ।

    दिल्लीले सन्दीपसँगै नयाँ सिजनका लागि श्रेयस ऐयर, पृथ्वी शाह, ऋषभ पन्त, मन्जोत कार्ला, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल तेवाटिया, हर्सल पटेल, अमित मि श्रा, काजिसो रबाडा, ट्रेन्ट बोल्ट र अभेश खानलाई पनि सुरक्षित गरेको छ ।

    यद्यपि गत सिजनका कप्तान गौतम गम्भीर, जेसन रोय, गुरकिरतमान, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, डान क्रिस्टियन, विजय शंकर, अभिषेक शर्मा, सहबाज नदिम, सयन घोस, लियम प्लङ्केट, जुनियर दला र नमन ओझालाई भने ‘रिलिज’ गरेको छ ।