• काठमाडौँ– निर्माण कार्य अन्तिम चरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ ।  केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उनले भने, ‘सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।’

    कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।

    नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग (सर्भिस ट्र्याक) निर्माण गरिरहेको छ ।

    चिनिँया निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा समन्वयको काम काठमाडौँ चक्रपथ सडक योजनाले गरिरहेको छ ।

    यो सडकलाई ‘अण्डर पास’ निर्माण र दश लेनको सडकका हिसाबले नेपालमै पहिलो सडक मानिएको छ । झण्डै चार वर्ष पहिले निर्माण कार्य शुरु भएकामा विनासकारी भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष लम्बिएको थियो ।

    १० दशमलव ४ किलोमिटर लम्बाइको यो सडकको कलङ्की कोटेश्वर सडकको कूल लागत तीन सय १२ मिलियन युआन छ।