• काठमाडौं,१६ कार्तिक- प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट ुडिस्चार्ज हुने भएका छन्। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन्।

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको मनमोहन कार्डियोथेरासिस तथा भास्कुलर सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनले भने ‘अहिले प्रधानमन्त्रीलाई कुनै समस्या छैन् उहाँ तन्दुरुस्त हुनु भएको छ।

    उहाँलाई आज या भोलि डिस्चार्ज गर्ने भन्ने बारेमा केही घण्टापछि थाहा हुने छ।’ प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए।

    अस्वस्थ भएपछि प्रधानमन्त्री ओली गत शनिबार सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापानमा समेत सहभागी हुन सकेका थिएनन्। आइतबार भएको मन्त्रिपरिषद् बैठकमा भने सहभागी भएका थिए।

    सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री राष्ट्रपति भण्डारीको कतार भ्रमणको विदाइमा सहभागी भएनन्। प्रधानमन्त्री ओलीले अस्पतालमै गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई बोलाएर क्याविनेटको बैठक गरेका थिए।