• काठमाडौं,अशोज ९-दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै मंगलबार अग्रिम टिकट बुकिङ सुरु गरिएको छ।

    भदौ ३१ गते बसेको यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको बैठकले अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरे पनि व्यवसायीले यातायातको भाडा नबढाए बुकिङ नखोल्ने निर्णय गरेका थिए।

    सरकार र व्यवसायीको छलफलपछि आइतबार यातायात व्यवस्था कार्यालयले  सवारी सानधनमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

    महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरूप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि मंगलबार टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए।