• काठमाडौं-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्माला पन्तका बास्तविक पिडकलाई प्रशासनले पत्ता लगाउन नसकेको भन्दै उनका बाबु आमा सहित ९ जनाको टोली न्याय माग्दै काठमाडौं आएका छन्।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रशासननै घटनाका वास्तविक दोषीलाई लुकाउन लागिपरेको आरोप लगाए ।

    निर्मलाका बाबु र आमाको पीडा त झन् भयाबह थियो । आफ्नी छोरीमाथि अमानवीय व्यवहार भएको घटनाका दोषी पत्ता नलाग्दा उनीहरु प्रशासनप्रति आक्रोशित पोखे।

    निर्मलाका बाबु यज्ञ पन्तले पत्रकार सम्मेलनमा रुँदै आफूहरुले न्याय मागेको बताए । ‘हामीले न्याय मागेका हौं । न्याय दिन सक्दैन भने सरकारले हामीलाई पनि गोली ठोकेर मारोस्,’ पन्तले छोरीको वियोगको पिडामा रुँदै भने, ‘अब हामी न्याय नपाई कञ्चनपुर फर्किदैनौं।’

    आमा दुर्गादेवीले आफ्नी छोरीले न्याय नपाएको पीडामा सम्हालीन सकिनन् । ‘हामी पनि नेपाली नागरिक हौं,’ निर्मलाकी आमाले भावविह्वल हुँदै भनिन्, ‘हामीमाथि किन सरकार सौतेनी व्यवहार गर्दैछ ?’ कि हत्यारालाई मृत्यु दण्ड दिनु पर्यो नभएर नपुंसक बनाएर सरकारले छोड्नुपर्छ, उनले भनिन्।

    उता पन्त दम्पतीसँग आएका अन्य अधिकारकर्मीले प्रहरी प्रशासनले गरेको अनुसन्धानमाथि नै प्रश्न उठाए ।