• काठमाडौं,१५ भदौ-मेलम्ची खानेपानी आयोजनाले ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माणको तयारी भईरहेको जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा निर्माणाधिन ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रपतशत फोहोर पानी प्रशोधन गर्ने छ।

    आयोजानाले दिएको जानकारी अनुसार पहिलो चरणमा सल्लाघारी र कोडकुमा एक्एक वटा र धोबीघाट र गुह्येश्वरीमा २्२ वटा प्रशोधन केन्द्र निर्माण भईरहेका छन्।

    गुह्येश्वरीको पुरानो फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धिको काम अघि बढेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले जानकारी दिए।

    निर्माण सम्पन्न भएपछि गुह्येश्वरीमा ३ करोड २४ लाख, सल्लाघारीमा १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोडकुमा १ करोड ७५ लाख लिटर प्रतिदिन फोहर पानी प्रशोधन गर्नेछ।

    ‘राजधानी उपत्यकाको सम्पूर्ण फोहोर पानी प्रशोधन गर्न निर्माणाधीन ६ वटाले केन्द्रले पुग्दैन,’ उनले भने, ‘लगानी जुटाएर अन्य ठाउँमा पनि प्रशोधन केन्द्र निर्माण गर्नेबारे छलफल भइरहेको छ ।’

    दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोडकुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ ।

    बाँकी ठाउँको फोहोर पानी प्रशोधनका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले बताए। ‘सन् २०१८ मा पहिलो चरणका ६ वटै केन्द्रको निर्माण सम्पन्न हुन्छ, दोस्रो चरणमा सन् २०३० सम्म अरू पनि निर्माण हुन्छन्,’ उनले भने, ‘चाल्नाखेलमा बढी क्षमताकै प्रशोधन केन्द्र निर्माण गरिनेछ, यसले बाँकी रहेको सबै फोहोर पानी प्रशोधन गर्छ ।’ मेलम्ची खानेपानी आयोजना सम्पन्न भइसकेपछि उपत्यकामा दैनिक ५१ करोड लिटर पानी थपिनेछ ।

    पहिलो र दोस्रो चरणका प्रशोधन केन्द्र निर्माण भइसकेपछि मात्र फोहोर पानीको व्यवस्थापनको लागि पर्याप्त हुने उनले बताए ।

    दोस्रो चरणमा गोकर्ण, टुकुचा र भक्तपुरको हनुमानघाटमा समेत विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुने उनले बताए। गोकर्ण (२० लाख लिटर), हनुमानघाटमा १० लाख लिटर र टुकुचामा १० लाख लिटर क्षमताका प्रशोधन केन्द्र निर्माण गरिनेछ । केन्द्रमा अत्याधुनिक मेसिनबाट फोहोर पानी प्रशोधन गरेर खोलामा मिसाइने उनले बताए ।

    प्रशोधन केन्द्रसम्म पुग्न ढलहरूको निर्माण वाग्मती र धोबीखोला वारिपारि भइसकेको जानकारी दिँदै उनले मनोहरा, हनुमन्ते र खस्याङखुसङ खोलामा निर्माण भइरहेको बताए ।

    मनोहरामा ११ किमि, हनुमन्तेमा २५ किमि र खस्याङखुसङमा ७ किमि ढल बिछ्याउने काम भइरहेको छ । हनुमन्ते, मनोहरा र खस्याङखुसङ खोलामा ४५ किमि लामो इन्टरसेप्टर ९ठूला पाइप० पाइपलाइन बिछ्याइनेछ ।