• काठमाडौं,१३ भदौ बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन बुधबारबाटै अस्तव्यस्त भएको छ।

    ट्राफिक प्रहरीले सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सहजतालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा बुधबारदेखि शुक्रबारसम्म जोर विजोर नम्बरका सवारी सञ्चालन गर्न अनुमति दिएको छ ।

    जोरविजोर प्रणाली लागुभएपछि सडकमा सवारी साधनको संख्या कम भएको छ। तर, सवारी साधन कम भएपछि सर्वसाधरणले घण्टौ कुर्दा पनि यात्रा गर्न पाएका छैनन्।हिँडेरै गन्तव्यतर्फ लाग्न बाध्य भएका छन् ।

    ट्राफिक प्रहरी महाशाखाका अनुसार भदौ १३ र १५ गते विजोर नम्बरका गाडी चलाउनुपर्नेछ । १४ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुने भएकाले बुधबार विजोर नम्बरका गाडी मात्रै चलेका छन् ।

    बुधबारबाटै मुख्य सडकमा विशिष्ट पाहुनाको ओहोर दोहोर भइरहने भएकाले पनि सर्वसाधारणलाई मुख्य सडकको यात्रा थप कष्टकर भएको छ । ट्राफिक प्रहरीले अति विशिष्ट पाहुनाको लागि तय भएको सवारी रुटको विकल्प प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तीनवटा सवारी रुट तय गरिएको छ ।

    ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ ।

    यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ।