-
ढोरपाटन (बागलुङ), ५ भदौ : ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् ।
News Desk 0 response बुधबार, भदौ ५, २०८१
भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् ।
ढोरपाटन नगरपालिका–९ का ७६ वर्षीय नन्दराम घर्ती मगरले पहिले–पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौतारीमा बसेर थकाइ मार्ने गरेको स्मण गर्दै अहिले ती सम्पदा मेटिएकामा दुःखेसो पोख्नुभयो । उतिबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच हुने गरेको भन्दै अहिले सडक सञ्जालले गर्दा त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो ।
डेढदशक अगाडि गाउँबाट साता दिनसम्म हिडेर बजार पुग्ने गरेको सुनाउँदै मगरले अहिले केही घण्टामा पुग्न सकिने अवस्था आएको बताउनुभयो । “अहिलेका पुस्तालाई पाटीपौवा, धर्मशाला, चौपारी के हो भन्ने थाहा छैन । दुई/चार वर्ष अगाडि गाउँमा वरपिपलका चौपारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शीतल लिन्थ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले ती वरपिपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौपारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।”
गाउँमा सडक आएपछि आवागमन र दैनिकी सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको निसीखोला गाउँपालिका–१ का ७२ वर्षीय कुमबहादुर बुढा मगरले बताउनुभयो । आफूहरुको पालामा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखिने भन्दै अहिले पापपुण्य भन्ने चलन हराउँदै गएको उहाँले गुनासो पोख्नुभयो । सडक नआउँदासम्म गाउँको १२/१५ स्थानमा वर र पिपलको चौपारी तथा ढुङ्गे धारा रहेको सुनाउँदै अहिले ती ठाउँ सबै पुरिएर सडक बनेका उहाँले उल्लेख गर्नुभयो ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो । पालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उहाँले जानकारी दिनुभयो ।
मौलिक सम्पदाले समाजको पहिचान बोकेको भन्दै यसले पर्यटक प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष घर्तीले बताउनुभयो । निसीखोलामा बढी ग्रामीण क्षेत्र रहेकाले पनि मौलिक संस्कृतिको संरक्षणमा गाउँ, समाज र स्थानीय प्रशासनको भूमिका रहने भन्दै आपसी सहकार्य र एकताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।(रासस)
सम्बन्धित शीर्षकहरु
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२
