• काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने समस्या ज्युँका त्युँ रहेको छ ।

    नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले ब्रुमर सञ्चालन गरेको पाँच महीना भए पनि महानगरको सडकमा धुलो कम भएको छैन । 

    कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो । दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करीब ५०० टन धुलो सङ्कलन गरिसकेको महानगरकाे दावी छ ।

    महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौँको अनुभूति गर्न पाएका छैनन् ।

    गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात ब्रुमर प्रयोगमा रहे पनि काठमाडौँको सडक सफा हुनसकेको छैन ।

    सात वटै ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको  महानगरले बताएको छ ।

    प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो । यो समस्या समाधानका लागि सडक विभागले केही स्थानको सडकको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै स्थानको काम हुन बाँकी रहेको छ । जसका कारण ब्रुमर सञ्चालन गर्न समस्या भएको छ ।

    न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो ।

    महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

    ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।