• काठमाडौं– नेपाली सेनाले काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समयभित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् । 

    मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उनले आगामी २०७९ साल असोज महिनाभित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताए । निर्धारित समय सीमाभित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताए ।

    सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । उनले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताए ।

    आयोजनाले सुरुङमार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ । त्यसैगरी सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको पनि आयोजना प्रमुख उपरथी खाँणले जानकारी दिए ।

    यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रिपरिषद बैठकबाट स्वीकृत गरी काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ ।

    समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

    बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराएका थिए । ७६ दशमलव २ किलो मिटर लम्बाई रहेको सो सडक आयोजनाको निर्माणको जिम्मेवारी नेपाली सेनालाई २०७४ साल श्रावण २७ गते दिइएको थियो ।

    आयोजना प्रमुख उपरथी खाँणले तोकिएकै समयभित्र सो आयोजनाको कामलाई सम्पन्न हुने गरी सबै कामलाई अघि बढाइएको बताए । उनले आगामी आर्थिक वर्षको सूरुमै सो आयोजना अन्तरगतको सडकको कालोपत्रेका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने योजना तय गरिएको पनि बताए ।