• शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ।

    आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ।

    बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन्।

    करिब १० लाख मानिसलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सारिएको  बिबिसीले जनाएको छ।

    नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।

    महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।

    उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।

    साथै, देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भूभागमा पनि हिमपातको सम्भावना रहेको छ।

    आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने सम्भावना रहेको बताइएको छ।