• नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि अमेरिका लागेसँगै नेपाल कम्युनिष्ट पार्टीको एकतामा ढिलाइ हुने भएको छ।

    विदेश प्रस्थान गर्नु अघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले एकताबारे छलफल तीव्र पारेका थिए।

    अध्यक्ष ओलीले नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत तल्ला संगठनहरूको एकीकरण टुंग्याउने विषयमा छलफल गरेका थिए।

    स्रोतका अनुसार दुई अध्यक्षले जिल्ला कमिटीको नेतृत्वका लागि सिफारिस भएका नामहरू घटाउँदै लगेका थिए।

    ‘कुनै जिल्लामा दुईदेखि तीन नाममा छलफल केन्द्रित थिए भने कुनै जिल्लामा एउटा मात्र नाम राखेर टुङ्ग्याउँदै लगिएको थियो’, नेकपाका एक नेताले सेतोपाटीसँग भने, ‘गृहकार्य भैरहेको थियो। तर टुङ्ग्याउने तहमा पुगेको थिएन।’

    प्रचण्ड आफैंले पनि अमेरिका प्रस्थान गर्नु अघि पार्टी एकतामा ढिलाइ भैरहेको बताए। ‘एकतामा ढिलाइ भैराखेको छ। यसमा घनिभूत छलफल गर्नुपर्ने छ’, प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भने।

    नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले हरेक दिन बिहान पार्टी एकता टुङ्ग्याउने विषयमा बालुवाटारमा बैठक गर्दै आएका थिए।

    नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले भने पार्टीको जिल्ला कमिटी र जनवर्गीय संगठनहरूमा एकताका लागि गृहकार्य नै बाँकी रहेको बताए।

    ‘सचिवालय बैठक बसेको छैन’, खनालले भने, ‘गृहकार्य गर्ने सचिवालयले हो। दुई अध्यक्षले प्रस्ताव ल्याएपछि छलफल हुन्छ।’

    नेकपाले पार्टीको सांगठनिक एकीकरण टुंगो लगाउने विषयमा स्थायी समिति बैठकमार्फत् मापदण्ड तय गर्न कार्यदल बनाएको थियो। तर काम गर्न नसकेपछि कार्यदल सचिवालयले भंग गरिदिएको थियो।

    सचिवालयले सांगठनिक एकीकरणको विषयमा प्रस्ताव ल्याउन दुई अध्यक्षलाई जिम्मा दिएको छ।

    ‘अध्यक्षहरूले प्रस्ताव सचिवालयमा ल्याउनुहुन्छ’, नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘हामी छलफल गरेर स्थायी समितिमा अनुमोदनका लागि लैजान्छौँ।’

    तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच गत जेठ ३ गते पार्टी एकता भएको थियो। एकताको वर्षदिन पुग्न लाग्दा समेत नेकपाका जिल्ला कमिटी र जनवर्गीय संगठन तयार हुन सकेका छैनन्। त्यस्तै विधानमा उल्लेख भएपनि पोलिटब्युरो सदस्यहरू चयन भएका छैनन्।