• नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।

    बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।

    कहाँ के भयो ?

    विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् ।ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पनि व्यस्तता बढेको छ ।

    राजमार्गमा नक्कली बम

    पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो ।

    बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

    बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।