• प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।  

    माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

    दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेट वान-टु-वान थियो।

    झन्डै आधा घन्टा लामो भेटवार्तामा के-के कुराकानी भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन्

    मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए।

    ती भेटवार्ताका क्रममा सरकारको परराष्ट्र नीति र  चैतमा हुन लागेको लगानी सम्मेलनबारे छलफल भएको थियो।

    यसअघि माघ १८ गते परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूलाई नेपालको कूटनीति र लगानी सम्मेलनबारे ब्रिफिङ गरेका थिए।