• काठमाडौँ, ४ माघ-प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताएको छ ।

    प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हुँदैन भने।

    पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ माग गरेको थियो ।

    उत्तरमा प्रधानमन्त्री ओलीले भने, “देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै सहिष्णुता हुँदैन, यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध छ । समाचारबाट त्यसबारेमा जानकारी पाएका छौँ ।” यस सम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाइ सरकार कानूनबमोजिम अघि बढ्नेछ । कानूनविपरीत लगानी गरेको सम्बन्धमा सरकार सजग रहेको र यसमा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीले बताए।

    दोस्रो प्रश्नकर्ताका रुपमा सांसद डा. मीनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो भनी प्रश्न गरेको थियो ।

    जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी कांग्रेसका नेतासँग छलफल भइरहेको बताउँदै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताए।

    साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताए।