• काठमाडौं,९ पुस-नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गर्ने मालपोत कार्यालय चाबहिलका तत्कालीन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकामा रहेको २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट खरिद बिक्री गर्ने काममा संलग्न रहेको भन्दै प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

    ‘कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई(सच्याउन लगाई नागरिकको निजी सम्पत्ती उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक(अधिकारसंग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्‍याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले’ आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

    मालपोतकै कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले अन्य कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री र खरीद गरेको देखिएको अख्तियारले जनाएको छ ।

    यसरी भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्ठ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतम रहेका छन् ।

    अख्तियारले कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालमान सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमसँग ६ करोड विगो माग दावी गरेको छ ।