• काठमाडौं,९ पुस-अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबासमा सोमबारको खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन्।

    मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध किफायती बलिङ गर्दै तीन विकेट लिन सफल भएका छन्। सन्दीप दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन्। सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक एक विकेट लिएका थिए।

    पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए। पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन खर्चिए । यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने म्याथ्यु वेडलाई सन्दीपले क्याच आउट गराए । म्याथ्यु ५२ रनमा आउट भए । तेस्रो ओभरमा सन्दीपले ८ रन खर्चिए ।

    चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । बेन्जामिन २८ रनमा आउट भए । यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए । यससँगै बीबीएल ८ को दुई खेलमा ५ विकेट लिइसकेका सन्दीप मेलवर्न रेनेगार्ड्सका केन रिचर्डसन र एडिलेड स्टाइकर्सका रासिद खानसँगै सर्वा्धिक विकेट लिने सूचीमा अगाडि छन् ।

    सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो हार बेहोरेको छ । स्टार्स होबार्टसँग ६ विकेटले पराजित भएको हो । यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्टार्स सिड्नी थण्डरसँग डीएल मेथडमा १५ रनले पराजित भएको थियो ।