• ललितपुर, ४ पुस-काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ। प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ।

    सडकको लम्बाइ र जनसङ्ख्याको आधारमा मार्ग छुट्टाउन लागिएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए। प्राथमिक मार्गमा चक्रपथबाट दुईतर्फको दुई, बूढानीलकण्ठबाट लगनखेल, लगनखेलबाट रत्नपार्कलाई प्राथमिक रुटका रुपमा प्रस्ताव गरिएको छ।

    मुख्य मार्गबाहेकका नगरका भित्री भागमा सहायक मार्ग प्रस्ताव गरिएको छ । नगरलाई नगर नजिकका ठाउँसँग जोड्ने मार्गलाई ‘लिङ्क रोड’ (जोड्ने मार्ग) का रुपमा प्रस्ताव गरिएको छ । उनले भने, “मुख्यमा कति सवारी, सहायकमा कति र ‘लिङ्क’ मार्गमा कति सवारी आवश्यक पर्छ भन्ने तय गर्न बाँकी छ।”

    चारवटा प्राथमिक, १६ सहायक र ४२ वटा ‘लिङ्क’ मार्ग प्रस्ताव गरिएको प्रमुख पन्थीले बताए। एउटा मार्गमा कति वटासम्म गाडी आवश्यक पर्छ भन्ने अध्ययनले देखाउनेछ। तीनथरिका रुटमा कुन रुटमा कति सिट क्षमता भएको र कति लम्बाइका गाडी राख्ने भन्ने छिट्टै नै टुङ्गो लाग्ने उनले बताए।

    अहिले यातायात व्यवस्था कार्यालयले यातायात व्यवसायीले मागेकै मार्ग दिइरहेको छ। उनले भने, “मार्ग पूरै टुङ्गो लागेपछि सरकार र यात्रु दुवैलाई सहज हुनेछ।”

    यातायात क्षेत्रमा लामो समयदेखि रहेको ‘एकाधिकार’ सरकारले गतवर्ष अन्त्य गरेको थियो। कार्यालयले अहिले यातायात व्यवसायीले मागेकै रुट दिइरहेको छ। मागेको रुट दिँदा कतै सवारीको चाप बढी त कतै सवारी जान चाहँदैनन्।