• काठमाडौं,२५ मंसिर –राजधानीको चक्रपथ कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ ।  चीनले सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरेको छ ।

    चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । यसको फिनिसिङ पनि सकिएको छ । यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा मा हुने सवारी जामको घटेको छ । 

    शनिबारकै दिनमा चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिएको जानकारी गराउनेछ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको सडक विभागले जनाएको छ । तर, कहिले औपचारिक रुपमा चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन गर्छ भन्ने टुंगिएको छैन ।

    सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सकिने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । ‘लगभग सबै काम सकिएको छ ।

    अब केही दिनमा नै चक्रपथको काम पुरा हुन्छ,’ उनले भने,’अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले काम सक्छ ।’ आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।