• क्याटविस, १८ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी छन्।

    पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई मंगलवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो विषयमा नेपाली जनतालाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने बताइन्। नेपाल हिमालय, पहाड र तराईयुक्त अतिकम विकसित राज्य भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको जानकारी दिँदै नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको र नदीघाटी प्रणाली नकारात्मक रुपमा प्रभावित भएको उल्लेख गरिन्।

    उनले भनिन्, ‘‘हिमपहिरो, बाढीपहिरो र सुखापना पहिलेभन्दा अझै नकारात्मक भएको छ । पहाडमा भूक्षय तथा पहिरो बढिरहेको छ । प्राकृतिक स्रोतमा अप्राकृतिक प्रभाव पर्दा ग्रामीण जलप्रणालीमा अवरोध आएको छ । प्रकोपबाट सिर्जना हुने समस्या समाधान गर्न हामी आफ्नो राष्ट्रको आयमा ठूलो राशि व्यहोर्न बाध्य भएका छौँ ।

    नेपालको प्रमुख उत्पादनशील भूमि बाढी र डुबानबाट निरन्तर प्रभावित भएको छ । यसले कृषि क्षेत्रमा प्रमुख प्रभाव पारेको छ ।’’
    राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपले प्रत्यक्ष रुपमा महिला तथा स्थानीय जनतामा प्रभाव पारेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि घण्टौँ लगाएर पानी बोक्नु परेको ग्रामीण महिलाको कठिनाइ आफूले अनुभव गरेको बताइन्।

    उनले सगरमाथालगायत हिमालले स्वच्छ हावा र सफा पानी निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै वातावरण सफा र मौसमलाई नियमित बनाइराख्न हिमाल र समुद्रको विशेष महत्व रहेकामा जोड दिइन्। ‘‘यी हिमाल विस्तारै बग्ने भए पनि यसले भूमिलाई सिँच्छ । यो पानी सङ्कलन प्रणालीले पृथ्वीको तापक्रम नियन्त्रण गर्न महत्वपूर्ण रुपमा सहयोग गरेको छ ।

    यस प्राकृतिक अवस्थाको मूल्यलाई उच्च कार्बन उत्पादन गर्ने विकसित मुलुकले बुझ्नुपर्छ । उनीहरुले हिमाली मुलुकमा वातावरण बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्छ’’, उनले भनिन्। राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी राष्ट्रियस्तरमा उपयोगी एवं न्यूनीकरणीय उपायका कार्ययोजनामार्फत नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको जानकारी दिइन्।