• काठमाडौँ, १८ मङ्सिर-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन्।लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन्। आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् ।

    दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ। लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ।

    लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ। विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ। एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालीकाको ११औँ स्थानमा छ।

    त्यस्तै आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन्। नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ।

    छैटौँ चरणका खेलअन्तर्गत बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ। बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ।