• ललिलतपुर, १० मङ्सिर-देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ ।

    महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५९महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातको दिन पारेर पुस्तक सार्वजनिक गर्दै आएको ओरेकले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको कार्यक्रममा हिंसाका घटना र उजुरी दुबै बढेको उल्लेख गरेको छ ।

    आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय निकायमा महिला प्रतिनिधित्व बढ्नु महिला हिंसा न्यूनीकरणका लागि सम्भावनाका रुपमा रहेको बताउनुभयो । उनले भने, “प्रत्येक वडामा निर्वाचित भएका महिला सदस्यमार्फत हिंसा न्यूनीकरण गर्न सकिन्छ ।”

    आयोगले न्यायिक समितिका पदाधिकारीलाई तालीम दिइरहेको उनले बताए। अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै तह लागेको बताए। उनले भने, ‘स्थानीय निकाय र अधिकारकर्मीसँग सहकार्य बढाउन हामी चाहन्छौं ।”

    पत्रकार टङ्क पन्तले पछिल्ला वर्षमा मिडियाले महिला हिंसाका घटनालाई प्राथमिकता दिइरहेको बताए। ओरेककी केन्द्रिय सदस्य दुर्गा कार्कीले नेपाल प्रहरीले महिला हिंसासम्बन्धी तथ्याङ्क व्यवस्थित गर्नुपर्ने औंलाए।