• नेपालगञ्ज, ८ मङ्सिर- बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनका लागि पकेट क्षेत्रको रूपमा चिनिदै आएको छ ।

    उक्त गाउँपालिकाका किसानले पराम्परागत र व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । किसानले गर्दै आएको खेतीलाई व्यावसायीकरण र सहयोग गर्नका लागि गाउँपालिकाले रु ४० लाख बजेट छुट्याएको छ । अहिले गाउँपालिका कृषि योजना कार्यान्वयन गर्ने तयारीमा जुटेको छ ।

    बजेट अभावका कारण चाहेर पनि कृषिसेवालाई प्रभावकारी बनाउन नसकिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरिएको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिको लागि न्यून बजेट छुट्याउने गरेको कृषि शाखा प्रमुख सुरेन्द्र ठाकुरको भनाइ छ ।

    सो गाउँपालिकाका वडा नं २ र ३ का स्थानीयवासी व्यावसायिक रूपमा कृषि खेती गर्दै आएका छन् । “हामीले कृषिमा लगानी गरे पनि पर्याप्त सहयोग पाउन सकेका छैनौँ”, खजुरा तरकारी हाटबजारका अध्यक्ष कमला न्यौपानेले भने।

    झण्डै ५१ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा करीब ७० प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् । जसमध्ये करीब ३० प्रतिशत किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कृषकलाई पहिचान गरेर कृषि शाखाले सहयोग गर्नुपर्ने किसानको माग छ ।

    सो गाउँपालिका विशेषगरी टमाटरखेतीका लागि प्रसिद्ध छ । गाउँपालिकाको वडा नं ३ को बीगाउँ, केगाउँ र वडा नं २ को सीगाउँ, गाईघाटलगायतका क्षेत्रमा बढी व्यावसायिक तरकारी खेती हुँदै आएको छ । किसानले टमाटर, काउली, बन्दाकाउलीलगायत हरियो साग उत्पादन गर्दै आएका छन् । यहाँका किसानले व्यावसायिक रूपमा तीन कठ्ठादेखि १५ बिघासम्म टमाटरलगायतका तरकारीखेती गर्दै आएका खजुरा–२ सीतापुरका किसान मोहनप्रसाद रिजालले बताए।