• वासिङटन डिसी, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर- अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयौं व्यक्ति घाइते भएका थिए। मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो।

    अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ। विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिसहरू भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।

    अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स लडाकू समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्। यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो।
    अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतङ्ककारी आक्रमणमा कुनै कमी आएको छैन।

    केही दिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको थियो।कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको पत्रकारसँग भनेको थियो। अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उनले प्रष्ट पारेको थियो।

    अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ। तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ।