• भक्तपुर, १८ कात्तिक-मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ। पहिचान हुुन नसकेको मङ्गोलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ।

    केही दिनअगाडि नै ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

    त्यसैगरी सोही नगरपालिका–७ नगदेशमा रहेको पाटीमा अचेत अवस्थामा रहेकी एक बेवारिसे महिलाको मृत्यु भएको छ। पाटीमा अचेत अवस्थामा रहेकी पहिचान हुन नसकेकी करीब ६५ वर्षीया महिलालाई प्रहरीले उपचारका लागि भक्तपुर अस्पताल पठाएकामा उक्त अस्पतालले वीर अस्पतालमा लैजान सिफारिस गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।