• पोखरा- पोखरा पल्टन पीपीएलले पीपीएल क्रिकेटको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना पक्का गरेको छ ।

    लिग चरणको अन्तिम खेलमा हुलास काठमाडौंलाई ४ विकेटले हराउँदै पोखराले उपाधि होडको यात्रालाई जीवितै राखेको हो । टस जीतेर फिल्डिङ गर्ने निर्णय गरेको पोखराले काठमाडौंलाई १९.२ ओभरमा १ सय ३ रनमा रोक्यो ।

    १ सय ४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पोखराका लागि कुशल भुर्तेलले १४, आसिफ सेख १६, रविन्द्रसिंहले २२ मोहम्मद नाभीले ३६ रन बनाए । कप्तान शरद भेषावकर र विनोद भण्डारी शुन्य रनमा आउट भए । रोहित पौडेल १५ रनमा नटआउट रहे ।
    काठमाडौंका लागि अमरसिंह राउटेल्लाले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सुसन भारीले १४ रन खर्चेर १ विकेट हात पारे । पवन सराफ र नन्दन यादवले समान एक एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रन मात्र बनाउन सक्यो ।

    काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । काठमाडौंका जयकिसान कोल्सावाल र गौरभ तमोर शुन्य रनमा नै आउट भए । अमित श्रेष्ठले २१ र पवन सराफले १२ रनको योगदान दिए । नरेश बुढायर ६, आदिल खान ७ र अमरसिंह राउटेल्ला १ रनमा आउट भए । बसन्त रेग्मि १९ रनमा नट आउट रहे ।

    पोखराका लागि ललितराज वंशीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका वंशीले ३ विकेट लिन १८ रन खर्चे । मोहम्मद नाभीले ४ ओभर बलिङ गरेर ११ रन खर्चिदै २ विकेट हात पारे । रासिद खानले दुई विकेट लिदा, बिक्रम भुषालले १ विकेट हात पारे ।