• काठमाडौं-हरितालिका तीजमा मुलुकभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। हिन्दूधर्मावलम्वीहरुको आस्थाको धरोहर पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको हो। चाड पर्वको बेला दर्शनार्थी महिलाको गहना लुटपाट हुने गरेको छ ।

    दर्शनार्थीको गहना जोगाउन प्रहरीले बिशेष सुरक्षा अपनाएको छ । पशुपतिमा १५ सय प्रहरी परिचालन गरिएको छ । परिचालित सुरक्षाकर्मीले महिलाको गहनाप्रति बिशेष निगरानी गरिरहेका छन्।

    शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने व्यवस्था मिलाइए पनि त्यस्तो कुनै घटना नभएको प्रहरीले जनाएको छ । सुरक्षालाई प्रभावकारी बनाउन मन्दिर वरपर विभिन्न स्थानमा सिसिटिभी समेत जडान गरिएको छ।

    मन्दिरमा सुरक्षाकर्मीको अलवा स्वयमसेवक समेत परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका उप निर्देशक प्रेमहरी ढुङ्गानाले जानकारी दिए।