• काठमाडौं-काठमाडौं राष्ट्रिय सभाको मंगलबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि’लाई अनुमोदन गरेको छ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मतीले उक्त महासन्धिलाई अनुमोदन समेत गरेको हो ।राष्ट्रिय सभाको मंगलबारको बैठकले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’लाई समेत सर्वसम्मतीले पारित गरेको छ ।

    उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

    बैठकमा ‘बालबालिका सम्बन्धि विधेयक, २०७५ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’भनी मन्त्री थापाले नै प्रस्ताव समेत प्रस्तुत गरेकी थिइन् । मन्त्री थापाको प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै बालबालिका सम्बन्धित विधेयकलाई समेत बैठकल दफाबार छफलको लागि सम्वन्धी विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    त्यस्तै राष्ट्रिय सभाको आजको बैठकले ‘जैविक विविधता महासन्धि अन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव’लाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्तावलाई आज सभासमक्ष प्रस्तुत गरेका थिए ।

    त्यसैगरी, राष्ट्रिय सभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ । उक्त महासन्धि माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।

    त्यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ्गले ‘अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ समेत पेश गरेका छन् ।राष्ट्रिय सभाको अर्को बैठक पर्सी भदौ २९ गते बिहान ११ बजे बस्ने भएको छ ।