• काठमाडौं-संसदको सार्वजनिक सुनुवाइ समितिले प्रधान न्यायाधीशमा प्रस्तावित न्यायाधीश ओम प्रकाश मिश्र विरुद्ध उजुरी गर्न म्याद दिएकोमा बुधबारसम्म उनको विरुद्ध ४ वटा उजुरी दर्ता भएको छ।

    गत भदौ १० गते संसदको सार्वजनिक सुनुवाइ समितिले १० दिनको म्याद दिइ मिश्रको नियुक्तीको विरुद्ध उजुरी भएमा त्यसको सूचना दिनको लागि आव्हान गरेको थियो।

    महिला अधिकारकर्मी साबित्री सुवेदीले मिश्र विरुद्ध उजुरी गर्दै मिश्रले न्याय सम्पादनको क्रममा पूर्व डिआईजी रञ्जन कोइरालाले श्रीमतीको हत्यापछि जलाएर प्रमाण नष्ट गर्न गरेको मुद्दामा दोषीलाई आफ्नो बचाउ गर्ने मौका किन दिएको जान्न चाहेको उजुरीमा उल्लेख गरेकी छिन्।

    त्यस्तै उनले एनसेललाई मुनाफा लैजान दिने विषयमा गरेको निर्णको कारण पनि जान्न चाहेको उल्लेख गरेकी छिन् भने सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गर्न मिश्रले आदेश दिएको विषयमा पनि प्रश्न उठाएकी छिन् ।

    उजुरी कै क्रममा सुवेदीले प्रस्तावित प्रधानन्यायाधीशको शैक्षिक योग्यताको विषयमा पनि प्रश्न उठाएको जनाइएको छ ।

    गत भाद्र ७ मा संवैधानिक परिषद्ले मिश्रको नाम प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो ।