-
बेइजिङ-चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनीया लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट पारेका छन्। विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित पूर्वाधारका कारण चिनीयाहरु हाबी भएको आरोप लाग्दै आएको समयमा राष्ट्रपति सीको उक्त भनाइ सार्वजनिक भएको हो ।
राष्ट्रपति सीले दुई दिने चीन–अफ्रिकी शिखर बैठक हुनुअघि यस्तो धारणा राखेका हुन्। शिखर बैठकमा विश्व चर्चित व्यापार पूर्वाधार कार्यक्रम “बेल्ट एन्ड रोड (बीआरआई)” का बारेमा पनि छलफल हुनेछ ।
व्यापक लगानीको बीआरआई मार्फत विदेशी बजार र स्रोतसाधनमा चीनको पहुँचमा सुधार ल्याउने लक्ष्य राखिएको छ । यसबाट बेइजिङको प्रभुत्व विश्वमै फैलिने भनाइ छ ।
चीनले यसअघि नै एसिया र अफ्रिकाका देशहरुमा सडक, रेलमार्ग, बन्दरगाह र अन्य महत्वपूर्ण पूर्वाधार परियोजनामा अर्बौं डलर लगानी गरिसकेको छ । तर आलोचकहरुले चीनको यस परियोजनामा सहमति जनाउने मुलुकहरु ऋणको ठूलो भागले थिचिएको बताएका छन् ।
“अफ्रिकामा चीनको लगानी राजनीतिक स्वार्थप्रेरित छैन,” अफ्रिकी नेता र व्यापारिक समुदायसँगको भेटमा राष्ट्रपति सीले भने । “चीनले अफ्रिकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र अफ्रिकालाई कुनै किसिमले प्रभावित तुल्याउने कार्य गर्दैन । अफ्रिकासँगको चिनीया सहयोग केबल विकासका प्रमुख समस्या सुल्झाउन केन्द्रित छ । हाम्रो सहयोगको रकम मिथ्या परियोजनामा खर्च गर्न सकिँदैन, र त्यस्तो रकमको पूर्ण हिसाबकिताब हुन्छ ।”
तर राष्ट्रपति सीले परियोजनाहरुको व्यावसायिक व्यावहारिकता पनि खोजिनु आवश्यक रहेको स्वीकार्दै लगानीका जोखिमलाई न्यून गर्नेतर्फ पर्याप्त तयारी गरिनुपर्नेमा जोड दिए। उनले सहयोगलाई बढी दिगो बनाउनुपर्ने पनि बताए।
बेल्ट एन्ड रोडका बारेमा स्पष्ट गर्दै राष्ट्रपति सीले भने, “यो परियोजना कुनै विशिष्ट क्लब होइन र यो एकअर्का बिरुद्ध लक्षित पनि छैन । बरु यसमा खुलापन छ, विचारहरु आदानप्रदान हुन्छ र आपसी लाभमा परियोजनाहरुमा लक्षित गरिएको हुन्छ ।”
अमेरिकी विचारसमूह सेन्टर फर ग्लोबल डेभलपमेन्टको एक अध्ययनमा बिआरआई मार्फत रकम लिने एसियाली, युरोपेली र अफ्रिकी आठ देशमा ऋणको दिगोपनका बारेमा गम्भीर सरोकार रहेको जनाएको छ ।
अफ्रिकी युनियनका वर्तमान अध्यक्ष रुआन्डाका राष्ट्रपति पल कागामेले यस्तो सरोकारको कुनै अर्थ नरहेको बताए। उनले “ऋणको पासो” को कुरा अफ्रिकी–चिनीया सम्बन्धलाई हतोत्साहित गर्ने गलत मनसायबाट उठाउने गरिएको बताए।
सन् २०१५ मा जोहानेसबर्गमा भएको बैठकमा राष्ट्रपति सीले अफ्रिकाका लागि सहयोग र ऋण गरी ६० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका थियो । अफ्रिकी मुलुकहरुले चिनीया सहयोग र ऋणले आफ्नो मुलुकको पूर्वाधार विकास र औद्योगिकीकरणमा योगदान पुग्नेमा विश्वास गरिआएका छन् ।
नाइजेरियाली राष्ट्रपति मुहम्मदु बुहारीको उपस्थितिमा यसपटक चीनको एक्जीम बैंकबाट दूरसंचार परियोजनाका लागि प्राप्त हुने करिब ३३ करोड अमेरिकी डलरको ऋण सहायतामा हस्ताक्षर हुँदैछ । राष्ट्रपति बुहारीले चिनीया र अफ्रिकी कम्पनीहरुले प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउने अपेक्षा पनि गरे।
यसपटकको आफ्रिका–चीन शिखर बैठकमा इजिप्टदेखि सेनेगल र दक्षिण अफ्रिकासम्मका नेताहरुको सहभागिता रहनेछ । बैठकमा विवादास्पद नेता सुडानका राष्ट्रपति ओमार अल–बासिरको पनि सहभागिता हुने।
News Desk 0 response सोमवार, भदौ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
